अर्घाखाँची, ११ कार्तिक । अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।
सन्धिखर्क–१०, शिखरबार्नीमा निर्माणाधीन हवाईमैदानको रनवेमा मोटरसाइकल चलाउने क्रममा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार गए राति दुई मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
प्रदेश नम्बर–२–०३८प५०३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सन्धिखर्क नगरपालिका–१, मिडियाचोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको डीएसपी रिजालले जानकारी दिए ।
यस्तै, बा२५प८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क–२, आटिकापाटा ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन् । घाइते दुवैको बुटवलस्थित मर्सिटी अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुुसन्धानबाट खुलेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस