काठमाडौँ, २७ असोज । सिस्ने गाउँपालिकाका दुईवटा वडा मिलेर रुकुमकोट बनेको छ । वडा नं. ५ र ६ का अग्ला पहाडका बीचको सुन्दर ठाउँ रुकुमकोट सानो उपत्यका पनि हो । जुन उपत्यका ५२ पोखरी, ५३ टाकुरीको उपनामले पनि चिनिन्छ ।
अहिले पोखरी र टापु हराएर घरैघर बनेका छन् । पोखरी अतिक्रमण गरी खेतीपाती गर्न थालिएको छ। २०१९ सालमा सल्यानबाट अलग्गिएर रुकुम छुट्टै जिल्ला बन्ने क्रममा रुकुमकोट क्षेत्रलाई ५२ पोखरी, ५३ टाकुरी हो भनेर तत्कालीन सरकारलाई जानकारी गराइएको बूढापाकाको भनाइ छ । २०५२ सालमा जग्गा नापनक्सा गर्ने क्रममा गाउँघरका धेरै टाठाबाठाले यी टाकुरी र पोखरीलाई आआफ्ना नाममा नापजाँच गराए । धेरै टाकुरी र पोखरी व्यक्तिगत रूपमा दर्ता गराइएपछि रुकुमपूर्वस्थित रुकुमकोटको ५२ पोखरी, ५३ टाकुरीको चिनारी बिस्तारै हराउँदै जान थालेको छ ।
पछिल्लो समय सिस्ने गाउँपालिकाले २० वर्षे गुरुयोजना बनाएर यसको संरक्षण गरी रुकुमकोट उपत्यकालाई पर्यटकीय नगरीका रूपमा विकास गर्ने जनाएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।