देशभरमा ६ हजार बढीको उम्मेदवारी

काठमाडौँ, २४ असोज । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि देशभरमा गरी झन्डै ६ हजारको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले दुवै सभाको निर्वाचनका लागि आइतबार मनोनयको समय निर्धारण गरेको थियो । आयोगले निर्धारण गरेको सो दिन देशभरमा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचन लड्नका लागि ५ हजार ८ सय ६६ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभाको १ सय ६५ सिटका लागि २ हजार ४ सय ७३ जनाको उम्मेदवारी परेको छ भने प्रदेशसभाको ३ सय ३० सिटका लागि ३ हजार ३ सय ९३ जनाको उम्मेदवारी परेको छ ।

आयोगले आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि उम्मेदवारलाई मनोनयनको समय दिएको थियो । यस अवधिमा दर्ता भएकामध्ये आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा प्रतिनिधिसभा अन्तर्गत देशभर २ हजार २ सय ४२ पुरुष र २ सय ३१ महिला गरी कुल २ हजार ४ सय ७३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार आइतबार रातिसम्म उम्मेदवारी दर्ता कार्य जारी रहेकाले यो मनोनयन गर्नेको संख्या बढ्न सक्नेछ ।

तोकिएको समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारको दर्ता कार्य राति अबेरसम्म जारी रहेको आयोगले जनाएको छ । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी रहेको आयोगको भनाइ छ । जसका कारण मनोनय गर्नेको संख्या केही बढ्ने देखिएको हो । आयोगका अनुसार आइतबार रातिसम्म प्रदेशसभातर्फ ३ हजार ९९ जना पुरुष, २ सय ९३ महिला र १ अन्य गरी जम्मा ३ हजार ३ सय ९३ जनाको उम्मेदवारी दर्ता भएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा आइतबार मनोनयनपत्र दर्ता गरेका थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको