काठमाडौँ, २९ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार छान्ने चार वटा मापदण्ड तय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय बोर्डको बैठकले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो । पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय बोर्डको बैठकले समानुपातिकतर्फ उम्मेदवार चयनका चार मापदण्ड तोक्ने निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिनुभयो ।
महामन्त्री थापाको अनुसार गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दावी गर्न पाउने छैनन् । त्यस्तै, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने मापदण्ड तय भएको थापाले जानकारी दिनुभयो । बोर्डले उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेरको सन्तुलनलाई आधार मानेर पार्टीलाई लोकप्रिय मत थप्न सक्ने व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने मापदण्ड बनाएको महामन्त्री थापाले जानकारी दिनुभयो ।
‘समानुपातिकमा अघिल्लोपटक परेकालाई यसपटक नबनाउने, आन्दोलनमा सहभागी भएका, पार्टीमा लामो समयदेखि दुख गरेकालाई प्राथमिकता दिने कुरा हो’ नेता रामचन्द्र पौडेलले भने,‘योग्यता भएको जनतामा प्रभाव पार्नेलाई छनोट गर्ने मापदण्ड बनाएका छौं । चुनाव जित्न सक्नेलाई उम्मेवार बनाउनुपर्छ । यस्तै यस्तै पाँचवटा मापदण्ड बनाएका छौं ।’
उम्मेद्वार चयनमा संसदीय बोर्डको निर्णय नै अन्तिम हुने व्यवस्था कांग्रेसको विधानमा छ । बोर्डको निर्णयबमोजिम सभापति देउवाले उम्मेदवारलाई मनोनयन पत्र दिनुहुनेछ ।