चितवन, २८ भदौ । जिल्लाको भरतपुर महानगरपालिका–४ स्थित फनपार्क नजिक रहेको ‘नारायणी मनि ट्रान्सफर’मा भएको लुटमा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । भदौ २६ मा दिउँसो सवा १ बजेतिर मनि ट्रान्सफरमा लुटपाट भएको थियो ।
लुटमा संलग्न नवलपरासी पूर्व घर भएर चितवन महानगरपालिका–१६ बस्ने ४२ वर्षीय मिनमान सुनारलाई पक्राउ गरिएको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । लुटमा संलग्न आरोपी बा.प्र–०३–००१ ह १२६३ नम्बरको अटो चालक हुन् ।
फनपार्क नजिक रहेको पूर्ण शंकर गौतमको घरमा संचालित मनि ट्रान्सफरको कोठाभित्र गएर उनले धारिलो हतियार देखाएर २ लाख ४ हजार २५० रुपैयाँ डकैती गरेको एसपी अधिकारीले जानकारी दिए । सोमबार पक्राउ गरेर प्रहरीले उनीमाथि डाँकाचोरी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । लुटेको रकम उनको झोलाबाट १३ हजार र डेराबाट १ लाख ६७ हजार बरामद गरिएको छ । डकैती गरेपछि सुनारले लुट्न जाँदा लगाएको कपडा खोलामा फालेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।