जनकपुरधाम, २८ भदौ । धनुषामा गोली चलेको छ ।
सोमबार मध्य राति गणेशमान चारनाथ नगरपालिका ४ पोर्ताहास्थित बन्दुधारी समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको हो ।
चारनाथ खोलामा प्रहरी नायव निरीक्षक रामनाथ यादव नेतृत्वको गस्ती टोलीले बन्दुकधारी समूहलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको धनुषाका प्रहरीले जनाएको छ ।
बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा समूहबाट फायर गरेपछि जवाफी कारबाहीमा प्रहरीले दुई राउन्ड गोली प्रहार गरेको थियो । प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारी समूहका गणेशमान चारनाथ नगरपालिका ५ बस्ने ३० वर्षीय गणेशबहादुर बुढाथोकी पक्राउ परेका छन् ।
उनको खुट्टामा गोली लागी घाइते हुँदा प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । उनको जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । उनको साथबाट प्रहरीले एक थान भरुवा बन्दुकसमेत बरामद गरेको छ ।