काठमाडौँ, २८ भदौ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले मुलुकको आर्थिक अवस्था अध्ययन नै नगरी सवारी साधनको इन्जिनमा युरो–६ मापदण्ड लागू गराउनेगरी गृहकार्य थालेका छन् । स्वार्थ समूहको प्रभावमा परी मन्त्री यादवले मुलुकको आर्थिक अवस्थाको कुनै अध्ययन नै नगरी युरो–६ को प्रदूषणसम्बन्धी मापदण्ड लागू गर्न खोजेपछि उनी विवादमा तानिएका छन् ।
अर्थ मन्त्रालयले मुलुकको आर्थिक अवस्था कमजोर भइरहेको अवस्थामा विस्तृत अध्ययन गरेर मात्रै सवारीसाधनमा युरो–६ को मापदण्डमा जान सुझाव दिए पनि वन तथा वातावरण मन्त्री यादवले अर्थ मन्त्रालयको सुझावलाई बेवास्ता गर्दै आर्थिक अवस्थाको अध्ययनबिनै एकैपटक युरो–६ मापदण्डमा जानेगरी गृहकार्य अघि बढाएका हुन् । प्रदूषण न्यूनीकरण हिसाबले युरो–६ मापदण्ड राम्रो भए पनि मुलुकको आर्थिक अवस्था कमजोर भएकाले तत्काल युरो–६ मा जाँदा मूल्यवृद्धि हुने र उपभोक्ताहरू मूल्यवृद्धिको मारमा पर्नसक्ने विज्ञहरूले बताएका छन् ।
हाल, आर्थिक अवस्था कमजोर भएको र मुलुकमा विदेशी मुद्राको सञ्चिति पनि सन्तोषजनक नभएपछि सरकारले महँगा र विलासीका गाडीलगायत सामानमा हुने आयात केही महिनादेखि रोक्दै आएको छ । तर, वनमन्त्री यादवले भने आर्थिक अवस्थाको कुनै मतलब नै नगरी सवारीसाधन आयातमा युरो–६ मापदण्ड लागू गराउनेगरी गृहकार्य तीव्र पारेका हुन् । यसअघि, २०७७ सालमा पनि सवारीसाधनको आयातमा युरो–६ मा जाने सम्बन्धमा वन तथा वातावरण मन्त्रालयले गृहकार्य गरेको थियो । मन्त्रालयले अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका अधिकारी सम्मिलित एक कार्यदल बनाएर अध्ययन गरेको थियो ।
सो कार्यदलले तत्काल युरो–६ को साटो युरो–४ मा जान सकिने र बिस्तारै साधनस्रोत सम्पन्न र आर्थिक अवस्थामा सुधार हुन थालेपछि पुनः अध्ययन गरेर युरो–६ मा जान सकिने निष्कर्ष निकालेको थियो । तत्कालीन वन तथा वातावरण सचिव डा। विश्वनाथ ओलीले कार्यदल गठन गरेर अध्ययन गराएका थिए । त्यतिखेर सो कार्यदलले अर्थ मन्त्रालयसँग सुझाव मागेको र अर्थले आर्थिक अवस्था कमजोर भएकाले आर्थिक अवस्थाको विस्तृत अध्ययन गरेर मात्रै उपयुक्त कदम चाल्नुपर्ने सुझाव दिएको थियो । त्यसपछि यो कार्य अगाडि बढ्न सकेको थिएन यसबीच वनमन्त्री यादवले एकाएक युरो–६ मा जाँदा हुने आर्थिक अवस्था विश्लेषण सम्बन्धमा कुनै अध्ययन नै नगरी युरो–६ मा जान मन्त्रालयको प्रशासनिक नेतृत्वलाई दबाब दिएको बताइएको छ । तर, मन्त्रालयका सचिव पे्रमनारायण कँडेलले युरो–६ मा जानुअघि आर्थिक अवस्थाको विश्लेषण गरेर मात्रै जानुपर्ने सुझाव मन्त्रीलाई दिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ।