काठमाडौँ, २५ भदौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनको मनोवैज्ञानिक त्रास टुटिसकेको बताएका छन् ।
आज एमालेको मोरङ–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरेलले स्थानीय तह निर्वाचनबाट गठबन्धनको मनोवैज्ञानिक त्रास टुटेको दाबी गरेका हुन् ।
उनले भने, ‘अब गठबन्धनको मनोवैज्ञानिक त्रास अब टुटिसक्यो, ‘गठबन्धनवालाहरूको दुर्दशा देख्नुभयो नि तपाईँहरूले पर्खनु मात्रै पर्छ त्यसको दुर्दशा देख्न धेरै समय कुर्नुपर्दैन ।’
स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनले एमालेको पत्ता साफ गर्छु भनेर तालमेल गर्दा पनि एमालेलाई कमजोर बनाउन नसकेको बताउदै उनले भने, ‘नेकपा एमालेलाई पत्ता साफ गर्दिने, टर्च बालेर खोज्नुपर्ने, भित्तामा पुर्याउने भन्दै थिए । त्यसरी दम्भपूर्ण घोषणाका बाबजुद पनि एमाले मतका हिसाबले सर्वाधिक लोकप्रिय मतसहित आयो ।’
मतका हिसाबले स्थानीय निर्वाचनमा एमालेले विगतभन्दा १ प्रतिशत बढी मत ल्याएको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए ।