काठमाडौँ, ९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने कुरा हल्ला मात्रै भएको बताउनुभएको छ ।
पूर्वसैनिक अधिकारीहरूलाई बुधबार अपरान्ह शितल निवासमा भएको छलफलमा उहाँले राजिनामाको बारेमा केही सोच नबनाएको बताउनुभयो । ‘नागरिकता विधेयक, अग्निपथ (भारतीय सेनाले सैनिक भर्तीबारे ल्याएको एक योजना) लगायत विषयमा कुराकानी भइरहेका बेला राष्ट्रपतिले राजीनामा दिने प्रसंगका कुरा पनि निस्केको थियो,’ शितल निवासमा पुगेका एक उपरथीले भन्नुभयो, ‘मैले राजीनामा दिने कुरा बजार हल्ला मात्रै हो, यसमा मैले केही सोच बनाएको पनि छैन भनेर उहाँ (राष्ट्रपति)ले भन्नुभयो ।’
त्यहाँ बहालवाला प्रधान सेनापति र पूर्वप्रधान सेनापतिहरूलगायत पुग्नुभएको थियो । राष्ट्रपतिले ुधन्यवाद दिनु भन्दै पूर्वसैनिक अधिकारीलाई निम्त्याएकी थिइन्, सो क्रममा रात्रीभोज पनि भएको थियो । राष्ट्रपति भण्डारीले पूर्वसैनिक अधिकारीहरूसँग विभिन्न विषयमा कुराकानी गर्नुभएको थियो । प्रतिनिधि सभाबाट हालै दोस्रो पटक पारित नागरिकता संशोधन विधेयकबारे पनि त्यहाँ कुरा उठेको थियो । राष्ट्रपतिले प्रमाणीकरणका लागि पुगेको नागरिकता संशोधन विधेयक पुनस् संसदमै फिर्ता गरे पनि हुबहु प्रतिनिधि सभाबाट फेरि पारित भइसकेको छ भने राष्ट्रिय सभामा पेश हुने तयारीमा छ । केही पूर्वसैनिक अधिकारीहरूले भने राष्ट्रपतिले लिने कदममा आफूहरूले समर्थन गर्ने बताउनुभयो ।
सभामुखले पठाएको १५ दिनभित्र राष्ट्रपतिले विधेयक पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर राष्ट्रपतिले नागरिकता विधेयक पारित नगरी राजनीतिक कदमका रूपमा राजीनामा दिन सक्ने चर्चा केही दिनदेखि भइरहेका छन् । गत मंगलबार सत्ता गठबन्धन बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रपतिले राजीनामा हल्ला छ नि १’ भनेर आफूनिकट केही मन्त्री र नेतासँग जिज्ञासा राख्नुभएको थियो ।