काठमाडौँ, ७ भदौ । ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ राष्ट्रियसभाबाट पारित हुन कम्तीमा एक साता ढिलो हुने भएको छ । प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको पुनर्विचारको सन्देशको बेवास्ता गरी पारित गरिएको उक्त विधेयक राष्ट्रियसभाको बैठक ६ दिन पर धकेलिएसँगै त्यसलाई अघि बढाउने प्रक्रियामा ढिलाइ हुने भएको हो ।
शनिबार राति निधन भएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेर राष्ट्रियसभाको बैठक यही भदौ १२ गते आइतबारका लागि तोकिएको छ । तर प्रतिनिधिसभाको बैठक भने मंगलबारका लागि नै बोलाइएको छ । राष्ट्रपतिसमक्ष दुवै सदनले पारित गरेको नागरिकता विधेयक यसअघि गत साउन १४ गते प्रमाणीकरणका लागि पठाइएको थियो । राष्ट्रपतिले पुनर्विचार गर्न भन्दै गत साउन २९ गते संसद्मै फिर्ता पठाएकी थिइन् ।
राष्ट्रपतिले नागरिकता विधेयकको संवेदनशीलतालाई औंल्याउँदै केही पक्षमा पुनर्विचार गर्न पठाए पनि प्रतिनिधिसभाले भदौ २ गते जस्ताको तस्तै पारित गरेको थियो । विधेयकका पक्षमा १३५ र विपक्षमा ६० मत परेको थियो । अहिले यो विधेयक प्रतिनिधिसभाले पारित गरेर सन्देश राष्ट्रियसभामा पठाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।