काठमाडौँ, ३० साउन । चितवनका कांग्रेस नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन क्षेत्र परिवर्तन गर्न सुझाव दिएका छन् ।
चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य दिनेश कोइराला, जिल्ला सभापति राजेश्वर खनाल लगायतका नेताले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा प्रचण्डले चितवन–३ कांग्रेसलाई छाडिदिनुपर्ने बताएका हुन् । गठबन्धन हुँदा कांग्रेसले चितवन–३ प्रचण्डलाई छाड्नुपर्ने आकलन गर्दै चितवनका नेताहरुले प्रचण्डलाई अन्य क्षेत्रमा जान सुझाव दिएका हुन् ।
केन्द्रीय सदस्य कोइराला प्रचण्डले चितवन–३ बाटै उम्मेदवारी दिन्छु भनेर ढिपी गर्न नहुने बताउँछन् । ‘उहाँले चितवन–३ बाहेक अरुतिर उठ्दिन भन्नुहुँदैन । ठूलो नेताले अरु ठाउँबाट पनि जित्न सक्नुहुन्छ । यसपटक चितवन–३ उहाँले छोडिदिनुपर्दछ’, उनले भने । चितवन–३ केन्द्रीय सदस्य कोइरालाको गृह क्षेत्र हो र उनी पनि यहाँबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा आकांक्षी छन् । यसै क्षेत्रबाट अर्का केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ पनि उम्मेदवारको आकांक्षी छन् ।
गत स्थानीय तह निर्वाचनमा माडी नगरपालिकामा माओवादी केन्द्रका उम्मदवारले भोगेको पराजय पनि प्रचण्डका लागि खतराको घण्टी भएको कांग्रेस नेताहरु बताउँछन् । चितवन–३ मा पर्ने माडी नगरपालिकाको प्रमुखमा यसपटक एमालेकी ताराकुमारी काजी महतो निर्वाचित भइन् भने माओवादी केन्द्रका मेयरका उम्मेदवार ऋषिराम काफ्ले पराजित भएका छन् । महतोले ९ हजार ७२९ र काफ्लेले ७ हजार ७२९ मत पाए । माडीमा एमालेले राप्रपासँग र माओवादीले कांग्रेससँग तालमेल गरेको थियो । प्रचण्डका लागि अर्को प्रतिकुल कारण कांग्रेसभित्रकै असन्तुष्ट समूह हो । जिल्लामा यो समूहको नेतृत्व कृष्णप्रसाद सापकोटाले गरिरहेका छन् । उक्त पक्षले प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा गरिसकेको छ ।
चितवन–३ मा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा एमाले पहिलो दल हो । एमालेले २९ हजार ७७१, कांग्रेसले २९ हजार ३४३, माओवादीले १० हजार ९४०, राप्रपाले ६ हजार १९८ र एकीकृत समाजवादीले ५ हजार ३७ मत पाएको थियो ।