काठमाडौँ, ९ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईले मन्त्री आलेलाई कुनै पनि सार्वजनिक पदमा आउन नहुने र आगामी निर्वाचनमा समेत प्रतिस्पर्धा गर्न रोक लगाउनेगरी आदेश माग गरेका छन् ।
‘निजले मन्त्री भएपछि गरेका कामहरु पटक-पटक विवादमा आउने गरेका छन्। निजले दिने अभिव्यक्ति निजको स्वतन्त्रता हो तर सार्वजनिक जीवन निर्वाह गर्दा निजले सोबारे संवेदनशील हुनुपर्ने हुन्छ। मन्त्री आलेले पछिल्लोपटक अश्लील शब्द प्रयोग गर्दै नेपाल बायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई गाली गरेको अडियो सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। निजले पहिलोपटक यही पदीय हैसियतमा रहँदा २०७८ फागुन ३ गते सार्वजनिक भएको टेलिफोन सम्वादमा मुम्बई बस्ने जगत ओलीलाई गरेको अश्लील गाली सञ्चारमाध्यम रमा सार्वजनिक भएको थियो,’ रिट निवेदनमा भनिएको छ।
त्यही भएर मन्त्री आलेलाई संविधानको धारा १३३ (२), (३) अनुसार अन्तरिम आदेश माग गरिएको छ।