काठमाडौँ, ८ असार । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको देशव्यापी विरोध भइरहे पनि फिर्ताका लागि सरकारले कुनै पहल गरेको छैन ।
नेपाल आयल निगम सञ्चालक समिति अध्यक्षसमेत रहेका वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेकै ‘योजना र दबाबमा सञ्चालक समितिले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको’समेत खुलासा भएको छ । जसकारण दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि पनि आकासिदो छ भने यातायात भाडादर अनियन्त्रित बन्दै गएको छ ।
बजारमा जथाभाबी मूल्यवृद्धि हुँदासमेत वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुगमनसहित कारबाही गर्नुको साट्टा उल्टै व्यापारीसँग ‘सेटिङ’ गर्ने गरेको आरोप मन्त्रालयका सचिव तथा निगम अध्यक्ष पाण्डेमाथि लागेको छ ।
यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुको भूमिकासमेत ‘शंकास्पद’ रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रधानमन्त्री र मन्त्री वडुलाई सहज हुनेगरी पाण्डेकै नेतृत्वको आयल निगम सञ्चालक समिति बैठकले पेट्रोलियममा भारी मूल्य वृद्धि गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।