काठमाडौँ, ७ असार । पर्यटन व्यवसायीहरूले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको राजीनामा माग गरेका छन् ।
नेपाल पर्यटन व्यवसायी संघ (निट)का अध्यक्ष दीपक महत, नेपाल पर्यटन व्यवसायी संगठन संयोजक नमराज दाहाल, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष पूर्णबहादुर कुवँरद्वारा सोमबार हस्तलिखित संयुक्त वक्तव्य जारी गर्दै मन्त्री आलेको राजीनामा माग गरेको हो । संयुक्त वक्तव्यमा भनिएको छ, “आफ्नो पदयि मर्यादासम्मको याद नगर्ने, आफ्ना मान्छेहरूलाई जागिर खुवाउन अनावशयक दबाब दिने, अश्लील गालीगलौज गर्ने र हातपातसम्मका घटना घटाउने जस्ता दुष्कार्य गरेर गैरजिम्बेवार बनेका मन्त्री आलेलाई उनको पदीय जिम्बेवारीबाट तत्काल बर्खास्त गरी सरकार र पार्टीको छवि बचाउन प्रधानमन्त्री र सम्बन्धित पार्टीलाई अनुरोध गर्छौ ।”
आफ्ना कर्मचारीलाई गाली गर्ने, हातपात गर्ने जस्ता कार्य मन्त्रीबाट भएकाले नैतिकताको आधारमा तत्काल राजीनामा दिन पर्यटन व्यवसायीहरूको छाता संगठनहरू एक साथ सुझाव दिएका छन् । महत्वपूर्ण मन्त्रालयको मन्त्री गरिमामय पदसम्म पुगेका वर्तमान मन्त्री प्रेम आलेले विगतदेखि वर्तमानसम्म प्रदर्शन गर्दै आएको हरकत सर्वसाधारणदेखि आफैं मातहतका कर्मचारी माथि व्यक्त गरेको असभ्य र अश्लील गाली बेइज्जती गुन्डागर्दी, पदीय मर्यादा र जिम्बेवारीलाई चटक्कै बिर्सेर आफ्ना कार्यकर्ताहरूलाई जागिरमा नलगाएको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गर्नु दुव्र्यवहार अनैतिक कार्यले गर्दा नेपाल सरकारका मन्त्री प्रेम आले एकपछि अर्को विवादमा मुछिँदै स्वयम् इतिहासकै बदनाम मन्त्री बनेको वक्तव्यमा उल्लेख छ ।