काठमाडौँ, ६ असार । नेकपा एमालेको नेतृ तथा प्रतिनिधिसभाको सांसद नविना लामाले पाँच दलीय गठन्धनको सरकारको नैतिकता गुमाएका अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिनुपर्ने बताउनुभएको छ ।
आज प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै नेतृ लामाले चरम मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने अर्थमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताउभयो । चरम महंगीका कारण जनताको घरमा चुलो समेत बाल्न कठिन भइरहेको उल्लेख गर्दै उहाँले नैतिकताको आधारमा सरकार तथा अर्थमन्त्रीले राजिनामा दिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘आफुलाई विपीको समाजवादको अनुयायी ठान्ने कांग्रेस र जनताको मुक्तीदाता ठान्ने माओवादीसहितको गठबन्धनको सरकारले चरम मंहगी वृद्धि गरी जनताको ढाड सेकेको छ । अत्याधिक मंहगीले जनताले दैनिक गुजारा गर्न समेत नसक्ने अवस्था बनेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको साथ साथै अन्य सम्पूर्ण दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धिका कारण चुलो बाल्न समेत मुस्किल परेको छ । जनता तथा किसान रोइरहेका छन् । बैंकले ऋण दिँदैन, व्यवसायीले व्यवसाय सञ्चालन गर्न सकेका छैनन्, उच्च शिक्षा हासिल गर्न विद्यार्थीहरु ऋण नपाएकै कारण विदेश जान पाएका छैनन् । त्यसैले यो वेला मैले विडम्बनाका साथ भन्नुपर्छ, नैतिकता गुमेको सरकार तथा अर्थमन्त्रीले राजिनामा दिनुपर्छ ।’