नेपालगञ्ज, ११ जेठ । बाँकेमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका-१२ का ४६ वर्षीय कृष्णलाल कुँवरको इलाका प्रहरी कार्यालयको हिरासत कक्ष परिसरको ट्वाइलेटमा झुण्डिएको अवस्थामा शव फेला परेको छ । उनी बुधबार बिहान करिब ५ बजेतिर झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
हिरासत कक्षबाट ट्वाइलेट गएका उनले ट्वाइलेटको भेन्टिलेलेटरमा टि-सर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको प्रहरी रिर्पोटमा उल्लेख छ । कुवँरलाई वैशाख १९ गते जबरजस्ती करणीको अभियोगमा पक्राउ गरी म्याद थप गरेर आवश्यक अनुसन्धानका लागि कोहलपुर इलाका प्रहरी कार्यालयले हिरासतमा राखेको थियो ।
मृत्यु भएका व्यक्तिमा पत्थरीको समस्या भएकोले औषधि सेवन गर्ने गरेको पारिवारिक स्रोतले बताएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले घट्नालगत्तै मानव अधिकारकर्मी, जनप्रतिनिधि बसेर मुचुल्का उठाई पोष्टमार्टका लागि शव भेरी अस्पताल पठाइएको जानकारी दिए ।