काठमाडौँ, ९ जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बालेन शाहसहितका स्वतन्त्र उमेदवारले जित्नु अपवाद भएको बताएका छन् ।
निर्वाचन परिणामबारे धारणा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वतन्त्र उमेदवारको जितले दलीय व्यवस्थालाई नै कमजोर पार्छ भन्ने व्याख्या ठिक नहुने बताए ।
उनले भने, “राजनीतिमा कहिलेकाहीँ त्यस्तो हावा चल्छ । दलहरूभन्दा बाहिरबाट जिताइयो भने त्यसले पो केही गरिहाल्छ कि भनेर मान्छेहरूलाई लाग्न सक्छ,“ काठमाडौँमा पनि त्यही भयो ।” उनले काठमाडौँमा बालेन शाहको अग्रता र अन्य ठाउँमा पनि स्वतन्त्र उमेदवारको जितलाई अपवादका रूपमा अर्थ्याए ।
राजनीतिमा कहिलेकाहीँ स्वतन्त्र जिताउने हावा चल्ने भन्दै अहिले पनि काठमाडौँसहितका ठाउँमा त्यस्तो हावा चलेको बताए । “केही ठाउँमा स्वतन्त्रले जिते अग्रता आयो भन्दैमा त्यसले दलीय व्यवस्थालाई नै कमजोर बनायो भन्ने हुँदैन,” महतले भने, “ काठमाडौँमा पनि त्यही हो । अन्यत्र पनि त्यही हो । यसलाई हामीले अपवादका रूपमा लिएका छौँ ।”