संखुवासभा, २१ बैशाख । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले संघीयता र लोकतन्त्र रक्षाका निम्ति पाँच दलीय गठबन्धन निर्माण भएको बताएका छन् ।
बुधबार संखुवासभाको मादीमा भएको जनसभालाई सम्बोधन गर्न पुगेका श्रेष्ठले प्रतिगमनको खतरा भएका कारण पनि गठबन्धन जरूरी भएको बताए। ‘पाँच दलीय गठबन्धन हाम्रो कामनाले, इच्छाले गरिएको गठबन्धन होइन,’ उनले भने, ‘नेपालमा छ दशक लामो संघर्ष गरेर, जनयुद्ध र जनआन्दोलनको संयोजनमा ल्याइएको परिवर्तन र लोकतन्त्रलाई उल्ट्याउने कदम चालिन थालेपछि त्यो प्रतिगमन असफल पार्न पाँच दलीय गठबन्धन गरिएको हो ।’
नेपाली जनताले रगत-पसिना बगाएर प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्न गठबन्धन बनेको उनको भनाइ थियो । त्यस्तै चुनावीसभाका लागि आएका नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले केपी ओलीको निरंकुशताको विकल्पमा गठबन्धन गरिएको बताए । रासस