काठमाडौँ, १८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थनसहित नेकपा (एमाले)लाई तीनै तहका सरकारमा पुनर्स्थापना गर्ने बताएका छन् ।
अध्यक्ष ओलीले आज मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२२ को अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सम्पूर्ण श्रमिक दिदीबहिनी तथा दाजुभाइहरूको साथ रहने बताएका छन् ।
शुभकामनामा भनिएको छ, “नेकपा (एमाले) त्यस्तो पार्टी हो, जसको सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकहरूका सरोकारहरूलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गर्यो ।”
उनले एमालेको अगुवाइमा संविधानसभाद्वारा निर्मित नेपालको संविधानले मौलिक हक र कर्तव्यमा श्रमिकका अधिकार सुनिश्चित गरेको बताए ।उनले नयाँ श्रम ऐनमार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताहरूका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चितता गरी एमालेले औद्योगिक क्षेत्रमा अनावश्यक हडताल र सङ्घर्ष गर्नु नपर्ने अवस्था सिर्जना गरेको समेत बताएका छन् ।
अध्यक्ष ओलीले विगतका वर्षमा एमाले नेतृत्वको सरकारले उद्यमी तथा श्रमिक दुवै पक्षबीच उच्च समझदारी कायम गरेको भन्नुहुँदै त्यही समझदारीका कारण श्रमिकको न्यूनतम पारिश्रमिक इतिहासमै उच्च, ३९ प्रतिशतले वृद्धि भएको बताएका छन् ।