काठमाडौँ, १५ बैशाख । प्रमुख राजनीतिक दलले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न चुनावी तालमेल गर्दा त्यसको प्रभाव महिला प्रतिनिधित्वमा पर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन परिणामलाई आफ्नो पक्षमा ल्याउन सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले चुनावी गठबन्धन गर्दा त्यसको प्रभाव महिलामाथि परेको छ ।
विपक्षी एमालेले पनि सरकारबाहिर रहेका दलसँग तालमेल गर्दा महिला नै मारमा परेका छन् । ७५३ वटा स्थानीय तहका ३५ हजार २२१ पदका लागि ५७ हजार ७०५ जना महिलाले उम्मेदवारी दिएका छन्। बाध्यात्मक बाहेकका पदमा दलहरूले प्राथमिकता नदिँदा पालिका प्रमुखलगायत पदमा महिलाको उम्मेदवारी घटेको हो । स्थानीय तह निर्वाचन ऐनले स्थानीय तहमा अध्यक्ष, उपाध्यक्षमध्ये एकजना महिला हुने व्यवस्था गरेको छ। तर फरकफरक दलहरूबाट अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी परे महिला हुनैपर्ने बाध्यकारी व्यवस्था छैन। ७९ वटा राजनीतिक दल र स्वतन्त्र गरी प्रमुख पदमा २६६ जना महिलाको उम्मेदवारी परेको छ ।
त्यसैगरी अध्यक्षमा १९८ जना महिला, उपप्रमुखमा १ हजार ५४९ जना महिला, उपाध्यक्षमा १ हजार ७८८ जना महिला, वडाध्यक्षमा १ हजार ५० जना महिलाको उम्मेदवारी दर्ता भएको छ। महिला सदस्यमा २६ हजार ४४८, दलित महिला सदस्यमा २३ हजार ८४३ र खुला सदस्यमा २ हजार ५६३ जनाले उम्मेदवारी दिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।