काठमाडौँ, १५ बैशाख । गर्मीयाम शरू भएसँगै राजधानीमा आगलागीका घटना बढ्न थालेका छन् । यो महिनामा मात्र ६ स्थानमा आगलागी भएको छ ।
अधिकांश घटना चुरोटको ठुटोका कारण भएको छ । वैशाख १ देखि अहिलेसम्म ६ स्थानमा आगलागी भएको जानकारी दिँदै दमकल कार्यालय काठमाडौंका प्रमुख चन्दन श्रेष्ठले भने, ‘हिजो बुधबार हल्चोकको पश्चिमी जंगल र त्रिभुवन विश्वविद्यालयको गेट नजिक भाडीमा आगालागी भएको थियो । वैशाख २ गते नागार्जुन जंगलमा, ४ गते तार्केश्वर नगरपालिकास्थित शान्तिधाम नजिकैको जंगलमा, १३ गते म्हेपी मन्दिरको जंगल र चोभारको जंगलमा आगलागी भएको थियो ।’
तीनदिन अघि शिवपुरीमा लागेको आगो बल्ल नियन्त्रणमा आएको छ । दमकलले मात्र सो आगलागी नियन्त्रण गर्न नसकेपछि सिमिक एयरको हेलिकोप्टर प्रयोग गरिएको थियो। सो आगलागीको मुस्लो र धूवाँका कारण उपत्यकाको मौसम धुम्म भएको छ । दमकल कार्यालय प्रमुख श्रेष्ठले कसैले जानेर त कसैले अन्जानमा आगो लगाउँदा जंगलमा ठूलो क्षति भएको बताए ।
उनका अनुसार अनुसन्धानका क्रममा सबैजसो आगलागीको घटना चुरोट सल्काएर फालेकै कारणबाट हुने गरेको छ । दिनहुँजसो आगलागीको घटना बढ्न थालेपछि दमकलका कर्मचारी हैरान भएका छन्। एक अग्नि नियन्त्रकले भने, ‘पछिल्लो १५ दिनमा हामी सुत्नसमेत कठिन भएको छ ।’ पछिल्लो एक महिनामा १३ स्थानमा आगलागीको घटना भएको दमकल कार्यालयको तथ्यांक छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।