बुटवल, १४ बैशाख । एमालेका उपाध्यक्ष विष्णु पौडेलले टिकट पाउनका लागि मात्रै राजनीति गर्नेहरू एमाले हुन नसक्ने बताएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले टिकट वितरणलाई लिएर असन्तुष्टि व्यक्त गर्ने छुट एमालेका कुनै कार्यकर्तालाई छुट नभएको बताए ।
उनले भने, “कोही व्यक्ति असन्तुष्टिको नाममा चुनावमा खटिँदैन, पार्टीलाई हराउन लाग्छ भने त्यो उसको निम्ति ठुलो भूल हुनेछ, पार्टीका अगाडि व्यक्ति केही होइन” उपाध्यक्ष पौडेलले चुनावमा टिकट पाउनका लागि मात्रै राजनीति नभएको बताउदै भने, “टिकट पाउनका लागि मात्रै राजनीति गर्नेहरू एमाले हुनै सक्दैनन् ।”
उपाध्यक्ष पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तास घरको संज्ञा समेत दिए । “एमालेका निम्ति गठबन्धन केही होइन, केपी ओली र एमालेप्रतिको बढ्दो आकर्षणले एमालेले चुनाव जितिसकेको छ”, उनले भने ।
उनले एमाले नेतृत्वमा रहँदा सङ्घ, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा काम र आगामी योजना बनाएर चुनावमा मत माग्न जान पनि कार्यकर्तालाई निर्देशन दिए ।