काठमाडौँ, १३ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र एमालेको घोषणपत्रको कपी गरेको आरोप लगाएका छन् ।
आज राजधानीमा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको २३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले घोषणापत्र एक व्यक्तिले लेखेको भाषणजस्तो भएको बताए । घोषणापत्रमा एमालेमाथि तथानाम गाली, संविधानको राम्रा कुरा उतारिएको र एमालेको घोषणपत्रको कपी गरेको आरोप पनि लगाए ।
उनले भने, “घोषणापत्र भन्ने शीर्षक छ, भित्र गालीपुराण छ । एमालेलाई तथानाम गाली । धारेहात सरापेको सराप्यै,” “कांग्रेसको घोषणापत्र पढ्नुस्, मजा आउँछ । कहाँ रसातलमा झर्यो भने ! कठैबरी, माया लाग्छ । कहाँ पुग्यो विचरा कांग्रेस ! लोकतन्त्रका लागि मात्रै दया देखाइरहेको हो । नत्र दया देखाइरहनु पर्दैन ।”
कांग्रेस समर्थित बुद्धिजीवीले समेत कांग्रेसको घोषणापत्रको पक्षमा लेख्न नसक्ने जिकिर समेत उनले गरे । “हाम्रा साथीहरूले घोषणापत्र पढेर कांग्रेसको हविगतको इन्जोय गर्नुस् । नेपालमा कांग्रेस समर्थित कोही बुद्धिजीवी छ भने कांग्रेसको घोषणापत्रको पक्षमा लेख्ने हिम्मत देखाउनुस्,” उनले भने, “हामीलाई त राम्रो छ । नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री उहाँले यस्तै घोषणापत्र निकाल्नुहुन्छ, यस्तै काम गर्नुहुन्छ र अलि सजिलो भएको छ । शेरबहादुरजीलाई धन्यवाद दिए हुन्छ ।”