बझाङ, २८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले चाहेको खण्डमा वर्तमान पाँच दलीय गठबन्धनको सरकारको जरो सात दिनमा नै उखेलेर फलिदिन सक्ने चेतावनी दिनुभएको छ ।
बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले एमालेको सरकार केही समयका लागि मात्र ढलेको उल्लेख गर्नुभयो । देशभरि एमालेको पक्षमा जनलहर उर्लिएको उल्लेख गर्दै उहाँले एमालेलाई जिताउनका लागि जनता चुनावको प्रतीक्षामा रहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘परमादेशका माध्यमबाट सरकार अलिकति समयका लागि, तर जनताको मनबाट ढलेन, उखेलिएन । त्यसैले तपाईँहरू चुनावको प्रतीक्षामा हुनुहुन्छ, एमालेलाई जिताउनका लागि । आज देशभरि जनलहर उर्लिएको छ एमालेको पक्षमा । एमाले सरकारमा छैन, प्रतिपक्षमा छ । एमालेले मन्त्री बनाउँदैन । कसैलाई राजदूत नियुक्त गर्दैन । तर, सत्तारुढ पार्टीका कार्यकर्ताहरू खोलो पहिरो भएर एमालेमा प्रवेश गरिरहेका छन् ।’
गठबन्धनको सरकारले एमालेसँग डराएर चुनाव रोक्न सरकारले धेरै कोसिस गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले कानून परिवर्तन गरेर, अध्यादेश ल्याएर चुनाव पर सार्न खोजिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेका प्रधानमन्त्री जहिले सरकारमा जानुहुन्छ लोकतन्त्र बुझाउनुहुन्छ । म आग्रह गर्न चाहन्छु, यसपालि त्यस्तो प्रयास नगर्नुस् । म उहाँको लुट मण्डलीलाई चेतावनी दिन्छु । वैशाख ३० गतेको निर्वाचन व्यवस्थित र निर्विघ्न सम्पन्न होस भनेर धेरै कुरा सहेका छौँ । यो सरकारले आफूलाई अजम्बरी बुटी पाएको सरकार नसोचे हुन्थ्यो । एमालेको चिताएको सात दिनमा यो सरकारको जरा उखेलेर फालिदिन्छ । तर चुनाव नबिथोलियोस भनेर चुप बसेका छौँ ।’