काठमाडौँ, ३ फागुन । नेपाली कांग्रेसकी नेत्री एवं पूर्वउपप्रधान तथा पराराष्ट्रमन्त्री सुजाता कोइरालाले एमसीसी परियोजना छिटौ पारित गराउनु पर्ने बताएकी छन् ।
आज पार्टी संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई बोल्दै उनले विकासको योजना लिन्नँ भन्नु हास्यास्पद भएको बताइन् । हरेक पार्टीबाट प्रधानमन्त्री बन्दा परियोजना अघि बढाएकाले पनि अब पारित गर्दिनँ भन्न नमिल्ने उनको भनाइ छ ।
उनले भनिन्, “हामीकहाँ यस्तो समुदाय छ जो विकास गर्न दिँदैन, योजना आउन दिँदैन । सधै बिगार्ने षड्यन्त्र हुन्छ । त्यसमा हामीले आँट गरेर अघि बढाउनुपर्छ,” “अहिले जति हल्ला गरे पनि पछि नेपाली जनताले सबै कुरा थाहा पाउँछन् । यसले गर्दा अरू काम गर्न हामीलाई ढिला भएको छ । यसलाई धेरै बहस गरेर समस्या झन् बल्झाउने काम नगरौँ । छिटौ पास गरौँ ।”
उनले विकास परियोजना आउँदैमा देश कब्जा नहुने बताइन् । “कसैले नेपाल कब्जा गर्न सक्दैन । आजसम्म कब्जा गर्न दिएनौँ । यत्रो आयोजना लियौँ, कसैले हडपे त ?,” उनले भनिन्, “वर्ल्ड बैंकसँग गिरिजाबाबु रिउसाउनुभयो एकपटक । तर, सहयोग लिनुभयो नि ! पछि त धेरै राम्रो काम गरेछ भनेर भन्नुहुन्थ्यो ।”