काठमाडौँ, १ फागुन । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशरे जबराविरुद्धको महाअभियोग प्रस्तावलाई गम्भीर षड्यन्त्रपूर्ण र अदालतमाथिको प्रहार भनेको उल्लेख गर्दै उक्त कदमको प्रतिवाद गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको एमाले सचिवालय बैठकले सत्तारुढ गठबन्धनमा रहेका दलका सांसदले पेश गरेको महअभियोग प्रस्तावलाई लोकतन्त्र र सार्वभौमसत्तामाथिको प्रहार र स्थानीय तहको निर्वाचनलाई धकेल्ने षड्यन्त्र भएको निश्कर्ष निकालेको हो । गठबन्धन सरकारको उक्त कदम अनुचित भएको भन्दै त्यसलाई असफल पार्ने एमालेले जनाएको छ ।
बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भन्नुभयो, ‘यो कदम नेपालमा सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयपछि थालनी भएको संवादको प्रयासलाई विथोल्ने षड्यन्त्रका रुपमा आएको हामीले अनुमान गरेका छौं ।’
सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई विथोल्ने र अदालतलाई सत्ताको निर्देशनमा चल्ने संस्था बनाउने उद्देश्यले महाअभियोग प्रस्ताव दर्ता भएको पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘समग्रतामा भन्दा यो कदम लोकतन्त्रमाथिको प्रहारका रुपमा र संघीय लोतान्त्रिक गणतन्त्रविरुद्धको प्रहारका रुपमा लिएका छौं । र्टीको तर्फबाट गम्भीर ढंगले प्रतिवाद गर्न आवश्यक छ भन्ने निश्कर्ष निकालेका छौं ।’