काठमाडौँ, २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्शेर जबराले भर्खरै पार्टी परित्याग गरेका पूर्वअध्यक्ष कमल थापा फेरि पार्टीमा फर्किनेमा आशावादी रहेको बताएका छन ।
आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीसँग बोल्दै पूर्वअध्यक्ष शम्शेरले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको बताए ।
उनले भने, ‘यो अनपेक्षित घटना हो । उहाँको धेरै गुनासा सार्वजनिक भइसकेको थियो । तर हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ । त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ । अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो । तीनै चरणको चुनावमा पार्टीले गम्भीर भएर सोच्नुपर्छ । उहाँ पार्टीमा फेरि फर्किनुहोस् भन्ने आशा छ ।’