काठमाडौँ, १८ माघ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । योसँगै पेट्रोलको मूल्यले उच्च विन्दुमा नयाँ रेकर्ड कायम गरेको छ ।
मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल/मट्टीतेल प्रतिलिटर रु. ३ ले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । अब पेट्रोल १४२ र डिजल/मट्टीतेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको छ । यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।
आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य ११६ रुपैयाँ तोकिएको छ । एलपी ग्याँसको नयाँ खरीद मूल्य प्रति सिलिण्डर ८१. ६२ रुपैयाँले घटेर आए पनि अझै निगमलाई प्रतिसिलिण्डर ५६०.०९ रुपैयाँ घाटा रहेको हुँदा समेत बिक्री मूल्य नबढाई यथावत् नै राखिएको निगमले जनाएको छ ।
