विराटनगर, १७ माघ । प्रदेश १ मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजनको निर्णय गरेको छ ।
प्रदेश १ मा हाल मुख्यमन्त्री कार्यालयसहित सात वटा मन्त्रालय छन् । तर सत्तारूढ पाँच दलीय गठबन्धनको सरकारले भागबण्डा पुर्याउन मन्त्रालय विभाजन गर्ने निर्णय गरेको हो ।
आइतबार साँझ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारका संरचना निर्माण र नामांकनका लागि सहजीकरण गर्न कार्यदल गठन गर्ने निर्णय भएको मात्रै बताएका थिए ।
तर सोही बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्दै मन्त्रालय संख्या ७ बाट १२ बनाउने निर्णय गरेको स्रोतले जनायो । तर विभाजनको निर्णय सार्वजनिक गर्दा आलोचना हुने भएका कारण निर्णय हाललाई गुपचुप राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतको भनाइ छ ।