काठमाडौँ, १५ माघ । पछिल्लो पटक संविधानसँग बाझिएका कानुन संशोधनको दाबी गरेको पाँच दलीय सत्ता गठबन्धनको बैठक आज शनिबार बस्दैछ ।
शनिबार बिहान ९ बजे गठबन्धनको बैठक बोलाइएको हो । निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा घोषणा हुन सकेको छैन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो ।
काँग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारकाे बैठकमा महामन्त्री गगन थापाले स्थानीय तहको चुनावलाई लिएर गठबन्धनले अघि सारेको विकल्प संविधानसम्मत नभएको बताइसकेका छन् । तर, माओवादी केन्द्र र एकीकृत समाजवादी भने पहिले संघकाे निर्वाचन र त्यसपछि स्थानीय तहको निर्वाचन चाहन्छन् । त्यसैले संविधान र ऐनमा एकरूपता ल्याउने भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने गृहकार्यमा गठबन्धन छ ।