काठमाडौँ, २४ पौष । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको टाउकोमा टेकेर आफूलाई अग्लो देखाउन नेकपा एकता गराएको टिप्पणी गर्नुभएको छ ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीले आफूले गज्जब काम गरेको भनेर गुड्डी हाँक्दै हिँडेको आरोप लगाउनुभयो । ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरूले अलग पार्टी बनाएको उहाँको दाबी थियो । ओलीले बालकोटको बार्दलीमा बसेर तथानाम गाली गरेको र त्यो प्रधानमन्त्रीबाट निकालेको पीडा बोलेको नेपालले उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘अहिले तपाईंहरूलाई थाहा छ, राप्रपा प्यारो छ, केपी ओलीका लागि । महन्थ ठाकुर प्यारा छन्, केपी ओलीका लागि । विदेशीहरू प्यारा छन्, उनका लागि । तर आफ्नै पार्टीका कार्यकर्ताहरू, जसले उनलाई बा भन्दैनन् । जसले उसलाई पुज्दैनन् । जसले उनको भजन गाउँदैनन् । विचित्र छ, प्रधानमन्त्री बन्ने बेलामा, बालुवाटार जाने बेलामा बरु कार्यकर्ताहरुको जुलुस त्यहाँ पुग्ने गर्दछ । पीडा धेरै भइसकेपछि त्यो मुखबाट बाहिर निस्कन्छ। कहिले त्यो बमिट गरेर निस्कन्छ, कहिले शब्दबाट निस्कन्छ। तपाईंहरूमध्ये कोही डाक्टर भए उपचार गरिदिनु भए हुन्छ । विचराको त्यो हालत । बालुवाटारबाट बालकोट पुग्नेवित्तिकै भुक्नु परेछ ।’