काठमाडौँ, २२ पौष । ललिता निवास जग्गा प्रकरणमा सरकारी लिखत कीर्ते सम्बन्धी कसूरको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सम्पन्न गरी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।
अनुसन्धान सकेर सीआईबीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय, काठमाडौँमा बुझाएको छ । प्रकरणमा ब्यूरोले ३ सय बढीलाई प्रतिवादी बनाउँदै चार वटा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको जनाइएको छ ।
ब्यूरोका अनुसार २०४९ सालदेखि २०७० सालसम्म चारपटक कागजात कीर्ते गरेर ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको निष्कर्षका साथ चार वटा अनुसन्धान प्रतिवेदन बुझाइएको छ । घटनामा प्रहरीले हालसम्म रामकुमार सुवेदी र उहाँकी पत्नी माधवीलाई मात्रै पक्राउ गरेको छ । अन्य सबैलाई फरार प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दायर हुनेछ ।
जिल्ला सरकारी वकील कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदन कार्यालयमा आइपुगेको जानकारी गराउनुभयो । उहाँले सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।