कांग्रेस महाधिवेशन: तीन मतदान केन्द्र, ११ सय बुथ

काठमाडौँ, २६ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार (भोलि) हुने निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । यसैगरी, एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

मतदाताको संख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा. सुरेश आचार्यले जानकारी दिए । महाधिवेशनस्थल राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ/शुभेच्छुक संघ–संस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ ।

त्यसैगरी, भृकुटीमन्डपको प्रांगणमा प्रदेश नम्बर–२ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश नम्बर–१, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको समितिले जनाएको छ ।

मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमन्डप प्रांगणमा २९३ बुथ र भृकुटीमन्डपको हलमा ५१४ बुथ राखिने भएको छ । मतदान सोमबार बिहान ८ देखि बेलुका ५ बजेसम्म हुनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी, ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगता भएकाबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ । पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ ।

यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त संख्यामा महाधिवेशन प्रतिनिधि चयन भएका छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४  माघ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नयाँ आदेश जारी गरेको छ ।

काठमाडौँ, ४  माघ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई मंगलबार कोरोना संक्रमण

काठमाडौँ, ४ माघ । राष्ट्रिय बाल अधिकार परिषद्ले आगामी निर्वाचनमा बालअधिकार संरक्षण तथा संवेदनशीलता प्रवद्र्धन सम्बन्धमा निर्वाचन आयोगसँग छलफल गरेको

काठमाडौँ, ४ माघ । अर्थ मन्त्रालयले सरकारको तीन आर्थिक वर्षको आम्दानी र खर्चको अर्धवार्षिक तथ्यांक एउटै भएको जनाएको छ। गत दुई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021