चितवन, १४ मंसिर । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । निर्वाचनमा करिब २ हजार ८० मत खसेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
तर मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ । २ हजार १५३ प्रतिनिधिमध्ये २ हजार ८० भन्दा बढी मत खसेको छ। निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा छ । एमाले नेता योगेश भट्टराईले मतदान सकिएको साढे एक दुई घण्टाभित्रमा मतपरिणाम आउने जानकारी दिए ।
मंगलबार बिहान चार बजेदेखि मतदान सुरु भएको थियो । चितवनको सौराहमा आयोजित नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि निर्वाचन भएको हो । सबैभन्दा पहिले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतदान सुरु गरेका थिए । अध्यक्षमा ओली र भीम रावल उम्मेदवार छन् ।