चितवन, १३ मंसिर । नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् । यद्यपि उनको सर्वसम्मत हुन सकेन र निर्वाचनबाट छिनोफानो हुनेभएको छ ।
अध्यक्षमण्डलको तर्फबाट सहमतिका लागि १९ सदस्यीय पदाधिकारी प्रस्ताव गरे । आफूलाई अध्यक्षका रुपमा प्रस्तुत गरेका उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम लिए । उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ छन् । सुरुमा उनले वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका नेम्बाङको नाम छुटाएका थिए । अध्यक्ष मण्डलका अरु सदस्यले सम्झाएपछि झण्डै छुटेछ भन्दै नेम्बाङलाई पनि उपाध्यक्षमा राखे ।
यस्तै महासचिवमा शंकर पोखरेललाई अघि सारेका उनले उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन् । सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम लिए । आफूले अघि सारेका नाममा सहमति जनाउन र त्यसलाई उम्मेदवारी दर्ता गर्न आग्रह गरेका छन् । लगत्तै उनले बन्दसत्रको यो सेसन अन्त्य भएको घोषणा गरेका छन् । राति अबेर शुरु भएको बन्दसत्रमा ओलीले ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गरेका थिए ।