काठमाडौँ, १२ मंसिर । चितवनको सौराहामा भइरहेको एमाले महाधिवेशनको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न प्रतिनिधिलाई आग्रह गरेका छन्। बन्दसत्रलाई करिब डेढ घण्टा लामो सम्बोधन गरेका ओलीले समझदारीमा अघि बढ्नु नै पार्टीभित्रको लोकतन्त्र भएकाले सर्वसम्मत तरिकाले चुनौती सामना गर्न सक्ने नेतृत्व चयन गर्नुपर्ने बताएका हुन् ।
देशमा देखिएको राजनीतिक समस्याको ठिक ढंगले समाधान गर्न सक्ने नेतृत्व महाधिवेशनबाट चयन हुने उनले बताए । राष्ट्रको सामाजिक परिवर्तन, अग्रगामी विकास, सुशासनको आन्दोलनलाई ठिक ढंगले अगाडि बढाउने नेतृत्व महाधिवेशनले चुन्नुपर्ने उनको भनाइ थियो। उनले एमालेमा एकता कायम गरी चुनौतीको सामना गर्न सक्ने, राजनीतिमा देखिएका विकृति हटाउन सक्ने र पथभ्रष्टलाई सुबाटोमा ल्याउने नेतृत्व आवश्यक भएकोमा जोड दिए ।‘पार्टीभित्र समझदारीमा नेतृत्व छान्नुपर्छ ।
प्रतिपक्षसँग संघर्ष प्रतिस्पर्धाकै आधारमा हुन्छ तर पार्टीभित्र मूल्यांकनका आधारमा हुन्छ,’ ओलीले भने । पार्टीभित्र आन्तरिक एकता प्रमुख भएको बताउँदै ओलीले सर्वसम्मत नेतृत्व चयनमा जोड दिए। उनले भने, ‘यसले प्रतिपक्षसँग एकताबद्ध भएर लड्न बल प्राप्त हुन्छ ।’ ओलीले महाधिवेशनबाट देशको समस्या पहिचान गरी समाधानको दृष्टिकोण र पार्टी सञ्चालन विधि अघि सारिने बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।