काठमाडौँ, ११ मंसिर । नेकपा एमालेले १० औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन आचारसंहिता तयार गरेको छ ।
दसौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पादन गरि लोकतान्त्रिक मूल्य मान्यताको आधारमा नेतृत्व चयन गर्ने प्रयोजनको लागि आचारसंहिता जारी गरिएको निर्वाचन आयोगका संयोजक विजय सुब्बाले जानकारी दिनुभयो ।
मतदानस्थल र मत गणनास्थलमा केन्द्रीय निर्वाचन आयोगले अनुमति दिएका व्यक्तिहरू भन्दा बाहेक अन्य कुनै पनि व्यक्तिले मोबाइल फोनको प्रयोग गर्न पाउने पाइने छैन । पार्टीको विधान, घोषित नीति, सिद्धान्त, कार्यक्रम विपरीत प्रचार–प्रसार गर्नु गराउन पनि निषेध गरिएको छ । समूहगत रूपमा छुट्टै भेला तथा बैठक गर्न गर्न पनि रोक लगाइएको छ । यस्तै मतदातालाई प्रभावित गर्ने उद्देश्यले भोजभतेरको आयोजना गर्न गराउन र मादक पदार्थको सेवन गरी प्रचार–प्रसार गर्नु गराउन समेत रोक लगाइएको आयोगले जनाएको छ ।
आयोगको आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई सचेत गराउने, निर्वाचन स्थलबाट हटाउने, निर्वाचनमा उम्मेदवारी वा मतदाताको सूचीबाट नाम हटाउने वा रद्द गर्ने सम्मको कारबाही हुन सक्नेछ ।



