काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेसँग वैचारिक दृष्टिकोणमा मतभिन्नता भए पनि लोकतन्त्रको संघर्षमा सँगसँगै रहेको बताएका छन् ।
उनले नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न उतारचढाव पार गर्दै लोकतान्त्रिक गणतन्त्र ल्याएकाे भन्दै त्यसको रक्षाका लागि दलहरुबीचको सहकार्य आवश्यक भएको बताए ।
“नयाँ संविधानमार्फत लोकतान्त्रिक मूल्य मान्यतालाई रक्षा गर्न जिम्मेवार दलको भूमिका खेल्न एमालेलाई म आग्रह गर्छु,” प्रधानमन्त्री देउवाले भने, “हामीबीच फरक दृष्टिकोण छन् र फरक पार्टी छौं । राष्ट्रिय एकता र अखण्डताका लागि हामीबीच सहकार्य हुन आवश्यक छ ।”
उनले दलहरुबीच रहेका मतभिन्नता संविधानले तोकेका विधिअनुरुप टुङ्ग्याउन पर्ने बताए । “यही पद्धति बसाल्नुपर्छ । नेपाली कांग्रेस यो मूल्य मान्यतामा विश्वास राख्छ,” देउवाले भने, “मेरो सरकार यिनै मूल्य मान्यता कायम गर्न लागिरहेको छ । नेकपा एमालेले थिती बसाल्ने क्रममा सरकारलाई पनि साथ दिनुपर्छ ।”