काठमाडौँ, ९ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र र नागरिकप्रति इमान्दार भएर काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।
आज राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानद्वारा काठमाडौँमा आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुरक्षा निकायलाई सबल बनाउन सके मात्रै मुलुक र नागरिकको सुरक्षा हुनेमा जोड दिए ।
उनले शान्ति–सुरक्षा विकास निर्माण र सुशासनको आधारशीला भएको उल्लेख गर्दै मुलुकको अस्तित्व जोगाउन तथा नागरिकको सुरक्षित जीवन सम्भव बनाउन सबल र सुदृढ आन्तरिक तथा बाह्य सुरक्षा प्रबन्ध आवश्यक भएको बताए ।
प्रधानमन्त्री देउवाले राष्ट्र र जनताप्रति अनुशासित, इमान्दार, व्यावसायिक र उत्पादनशील भएर काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन समेत दिए । उनले सीमा अपराध नियन्त्रणलगायत राष्ट्रियता तथा मुलुकको अस्मिता जोगाउन अग्रपंक्तिमा खटिएर काम गर्दै आएकोमा सशस्त्र प्रहरीको प्रशंसा समेत गरे ।