चितवन, ९ मंसिर । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने भएको छ । पूर्व–पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्रको सडकमा अत्यावश्यकबाहेकका सवारीलाई रोक लगाइँदै छ । बिहान ९ बजेदेखि साँझ ५ः३० बजेसम्म सवारीसाधनमा रोक लगाइनेछ । तामाङले एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, प्रेसलगायत सवारीसाधन भने व्यवस्थापन गरेर सञ्चालन गर्न दिइने बताए ।
पूर्व–पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनलाई व्यवस्थापन गरिएको छ । नारायणगढ–मुग्लिनतर्फबाट आएका सवारीसाधन बाइपास सडक हुँदै पूर्वतर्फ जानेछन् । पश्चिमतर्फ जानेलाई केन्द्रीय बस ट्रमिनलबाट भित्री सडक प्रयोग गरेर बाह्रघरे हुँदै नारायणी नदीको पुलबाट नवलपरासीतर्फ पठाइनेछ । त्यताबाट आएका सवारीलाई पनि भित्री सडक प्रयोग गरेर केन्द्रीय बस ट्रमिनल हुँदै गन्तव्यतर्फ पठाइनेछ ।
तामाङले भने, “यात्रा गर्नेलाई सकेसम्म सहज हुने गरी व्यवस्थापन गरिएको छ । अत्यावश्यक सवारी कहीँ पनि रोकिँदैनन् ।” मानिसको चाप धेरै भएको ठाउँमा सवारीसाधन समेत चलेमा दुर्घटना हुन सक्ने भएकाले पूर्वतयारीका साथ सावधानी अपनाइएको उनले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सुरक्षा प्रबन्धको सबै खालको व्यवस्थापन गरिएको छ । गाडी रोकिने नाकामा सुरक्षाकर्मी रहेर सुरक्षाको व्यवस्था गर्नेछन् । महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनारमा बनाइएको छ । उद्घाटनमा पाँच लाख सहभागी गराउने सो पार्टीले जनाउँदै आएको छ । रासस