काठमाडौँ, ८ मंसिर । नेकपा (एमाले)का प्रवक्ता तथा सचिव प्रदीप ज्ञवालीले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् ।
आज काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघद्वारा ‘साइबर सर्कल’ घोषणा कार्यक्रममा बोल्दै प्रवक्ता ज्ञवालीले १०औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन हुने समेत दाबी गरेका छन् ।
। उनले भने, “निसन्देह नेकपा एमालेको मात्रै होइन, सिंगो देशको नेताको रूपमा केपी ओलीको कुनै विकल्प छैन । मेरो पूर्ण विश्वास छ १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मतका साथ उहाँको नेतृत्वलाई अघि बढाउने छ ।”
मुलुकमा अहिले एमालेविरुद्ध चौतर्फी घेराबन्दीको अवस्था सिर्जना भएको पनि उनले बताए । केन्द्र र प्रदेशका सरकारबाट पार्टी बाहिरिएको, केही नेता एमालेबाट चोइटिएको र केही मिडियाको समाचार हेर्ने हो भने एमालेमा खरानी मात्र बाँकी छ जस्तो भन्ने सन्देश प्रवाह भएको अवस्थामा एमालेले दसौँ महाधिवेशनमार्फत त्यो भ्रम चिर्ने पनि उनले प्रस्ट पारे ।