काठमाडौँ, ८ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई पन्छ्याएर अघि बढ्ने दाबी गरेका छन् ।
आज युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी केन्द्र र नेकपा (एस) कहाँ पुग्छन् टुंगो नहुने बताए ।
उनले भने, ‘कांग्रेसको पुच्छरले एमालेलाई टक्कर दिन खोजेका छन् । कांग्रेसले पुच्छर हल्लाउँदा कहाँ पुग्छन् टुंगो छैन ।’ अध्यक्ष ओलीले एमाले एउटा पार्टीमात्र नभएर देश र जनताको प्रतिनिधित्व गर्ने मुख्य शक्ति भएको बताएका छन् । उनले नेपाली काँग्रेसको पुच्छर समातेर हिँडेकाहरूले फुर्ती लगाइरहेको भन्दै उनीहरूले फुर्ती लगाउनुको अर्थ नरहेको समेत बताए ।
सात वर्षअघि अध्यक्षको चुनावमा आफूसँगै पराजित भएका मान्छेले केही दिनअघि हिन्दी फिल्मको भिलेको डाइलग भनेको उल्लेख गर्दै ओलीले भने, ‘त्यसो भए त सात वर्ष अघि नै चुरचुर भइसक्नुपर्ने त ।’ पाँच दलीय गठबन्धन सरकारमा आएपछि देशमा आन्दोलन नभएर सर्वोच्च अदालतको आँगनमा आन्दोलन हुन थालेको ओलीले बताए । उनले भने, ‘पाँच दलीय गठबन्धनको सरकार भएपछि यस्तो नभएर के हुन्छ ?’
आजको कार्यक्रममा मदन भण्डारीको संयोजकत्वमा साइबर सर्कलको ३०१ सदस्यीय केन्द्रीय टिम बनाइएको जानकारी दिइएको छ ।