एमाले महाधिवेशनमा अन्तर्राष्ट्रियस्तरका ६० पार्टीलाई निमन्त्रणा

काठमाडौँ, ४ मंसिर । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा सो पार्टीसँग भाइचारा र मैत्रीपूर्ण सम्बन्ध रहेका अन्तर्राष्ट्रियस्तरका करिब ६० पार्टीलाई निमन्त्रणा गरिएको छ । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय यात्रा गर्ने कुरा त्यति सहज नभएको अवस्थामा महाधिवेशनमा उपस्थित हुने अन्तर्राष्ट्रिय पाहुनाको सङ्ख्या तुलनात्मकरूपमा कम हुने आकलन पनि गरिएको छ । सो पार्टीको महाधिवेशनका लागि गठित अतिथि सत्कार कमिटीका संयोजक डा राजन भट्टराईले उपस्थित नहुने पाहुनाले सफलताको शुभकामना सन्देश पठाएको जनाए।

अहिलेसम्म भारतबाट तीनवटा पार्टी भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी, भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादी लिवरेशन पार्टीले आउने निश्चित गरेका छन् । फरर्वाड ब्लकले पनि महाधिवेशनमा आउने निश्चित गरेको जनाइएको छ । त्यसैगरी बङ्गलादेशको कम्युनिष्ट पार्टी अफ बङ्गलादेशका तर्फबाट आउने निश्चित भएको छ भने रिभोलेसनरी वर्कर पार्टी र श्रीलङ्काबाट जेभिपी पार्टीका प्रतिनिधि आउने बताइएको छ । एमालेका विदेशका प्रमुख भट्टराईले कम्बोडियाको सत्तासिन पार्टी कम्बोडियन पिपुल्स पार्टीका प्रतिनिधिले आउने निश्चित गरेको र फ्रेञ्च कम्युनिष्ट पार्टीले पनि प्रतिनिधि पठाउने भनेको छ । टर्कीको वामपन्थी पार्टीले आउने निश्चित गरेको छ ।

युरोपमा पनि पछिल्लो समय कोरोना सङ्क्रमण बढेका कारण युरोपियन पार्टीहरुले आउने चासो राख्दा–राख्दै पनि आउन नसक्ने स्थिति भएकाले सन्देश पठाउने भएका छन् । दक्षिण एसियाका अरु रुलिङ पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीले आउन नसक्ने भन्दै शुभकामना सन्देश पठाउने भएका छन् । नर्थकोरिया पार्टी, भियतनाम र लावसले प्रतिनिधि नै पठाउन सक्ने या शुभकामना सन्देश पठाउने भन्ने विषयमा टुङ्गो गर्ने भएका छन् । नेता भट्टराईका अनुसार अहिलेसम्म बेल्जियमबाट शुभकामना सन्देश प्राप्त भएको छ । आयरल्याण्डबाट शुभकामना सन्देश प्राप्त भएको छ । जर्मनी र रसियाका तीनवटा पार्टीले शुभकामना सन्देश पठाउने भएका छन् ।

देशभित्रको सङ्घीय संसद्मा रहेका सातवटा राजनीतिक दललाई महाधिवेशनको उद्घाटन सत्रमा निम्ता दिइएको छ । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई यही मङ्सिर ३ गते एमाले नेता सुवास नेम्वाङसहितको टोलीले निमन्त्रणा पत्र हस्तान्तरण गरेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य दलका अध्यक्षलाई पनि निमन्त्रणा दिइएको छ । “हामीले देशभित्रका कूटनीतिक नियोगका प्रमुखहरूलाई पनि निम्ता गरेका छौँ, कतिपय प्रमुखहरूले आउने भनेर हामीलाई खबर पनि गर्नुभएको छ”, भट्टराईले भने ।

अन्तर्राष्ट्रिय पाहुनालाई ढिलोमा मङ्सिर ९ गतेसम्म काठमाडौँ आइपुग्न भनिएको र उनीहरुलाई १० गते बिहान काठमाडौँबाट चितवन लगिनेछ । चितवनमा उद्घाटनसत्रमा सहभागी गराएपछि उनीहरूलाई सौराहाको होटलमा बस्ने व्यवस्था गरिएको छ । उनीहरुको सम्मानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रात्रिभोजको आयोजना गर्नेछन् । त्यससँगै पाहुनाहरुकै सम्मानमा स्थानीय संस्कृतिका बारेमा जानकारी गराउन केही सांस्कृतिक कार्यक्रमको आयोजना तथा उनीहरुलाई सौराहामा दृष्यावलोकन र जङ्गल सफारीको पनि योजना बनाइरहेको जनाइएको छ । 

काठमाडौँमा पनि उनीहरुको सम्मानमा भेटघाटको आयोजना गरिने जनाइएको छ । उनीहरुलाई विधान महाधिवेशनमा पारित राजनीतिक प्रतिवेदनको साराशंलाई अङ्ग्रेजी अनुवाद गरेर प्रकाशन गरिनेछ । विधान महाधिवेशन कसरी सम्पन्न भयो भन्ने जानकारीका लागि जानकारीमूलक ‘न्यू–एरा न्यू बुलेटिन’ प्रकाशन गरेर पनि उहाँहरुलाई वितरण गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड