काठमाडौँ, ३ मंसिर । सरकारले माघ १२ गतेका लागि राष्ट्रिय सभा चुनाव गर्ने मिति तय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ । फागुन २० मा उहाँहरूको पदावधि सकिने भएको हो । पदावधि सकिनुअघि नै ती पदमा चुनाव गरिसक्नुपर्ने हुन्छ ।
२० सदस्यमध्ये १ जना राष्ट्रपतिबाट मनोनित हो । १९ पदका लागि माघ १२ मा चुनाव गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मिति तय गर्न सरकारसँग आग्रह गरेको थियो । राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै उक्त पदका लागि निर्वाचन गर्ने व्यवस्था छ ।