भारतको सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार घर पुनर्निर्माण

काठमाडौँ, ३० कार्तिक । भारत सरकारको सहयोगमा नुवाकोट र गोरखामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको छ।

सोमबार भारतीय दूतावासले काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, यूएनडिपी र यूएनओपिएसँगको सहकार्यमा एक कार्यक्रम आयोजना गर्दै भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको जानकारी गराएको हो।

कार्यक्रममा भारतीय दूतावासकी नियोग उपप्रमुख नामग्यसी श्री खम्पाले भारत सरकारले प्रतिवद्धता जनाएअनुरुप ५० हजार निजी घरहरुको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको बताए। उनले नेपाललाई भारत सरकारले पुनर्निर्माणको क्षेत्रमा सहयोग गरिरहेको बताउँदै गोरखा, नुवाकोट र काठमाडौँलगायतका क्षेत्रमा सांस्कृतिक सम्पदाहरू पुनः निर्माणमा सहयोग गरिरहेको बताए। उपप्रमुख खाम्पाले नेपाल सरकारले अपनाएको घरधनी लक्षित पुनर्निर्माण पद्धतिअनुसार सम्पन्न भएको बताए।

‘नेपाललाई भारतले पुनर्निर्माणको क्षेत्रमा धेरै सहयोग गरिरहेको छ, सम्पदा संरचना लगायतका क्षेत्रमा सम्पदा पुनर्निर्माणका लागि धेरै रकम प्रदान गरेको छ, गोरखा, नुवाकोट र काठमाडौँ लगायतका क्षेत्रमा भत्किएका भौतिक पुनः संरचना निर्माणमा सहयोग गरेको छ, मलाई विश्वास छ भारत सरकारले उपलब्ध गराएको अन्य अनुदान पनि नेपाल सरकारले उचित स्थानमा प्रयोग गर्नेछ, नेपाल सरकारले अपनाएको घरधनी लक्षित पुनर्निर्माण पद्धतिअनुसार सम्पन्न भएको छ,’ उनले भने।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भारतले गरेको सहयोगका लागि धन्यवाद दिए। उनले भारत सरकारले नेपाललाई पुनर्निर्माणका लागि धेरै स्थानमा सहयोग गरेको बताउँदै भारतले उपलब्ध गराउने रकम उचित क्षेत्रमा प्रयोग हुने बताए।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गोरखा र नुवाकोट जिल्लाका ४ नगरपालिका र १४ गाउँपालिकाका भूकम्प प्रभावित लाभग्राहीलाई सामाजिक–प्राविधिक सहजीकरण तथा परामर्श सेवा उपलब्ध गराउन सन् २०१८ मा भारत सरकारले युएनडिपी र युएनओपिएसलाई यस परियोजनामा संलग्न गराएको बताए।

उनले १०० मिलियन अमेरिकी डलर अनुदान र चौथो लाइन अफ क्रेडिट अन्तर्गतको ५० मिलियन अमेरिकी डलरसहित ५०,००० घरको पुनर्निर्माणका लागि आर्थिक र प्राविधिक सहयोग प्रदान गर्न आवास क्षेत्रमा भूकम्प पछिको सहायता प्याकेजको रुपमा भारत सरकारले १५० मिलियन अमेरिकी डलरको प्रतिवद्घता जनाएअनुरुप काम सम्पन्न भएको बताए।

‘नेपालमा २०७२ सालको महाभूकम्पमा ध्वस्त भएका संरचनाको पुनः निर्माणको लागि भारत सरकारले धेरै सहयोग गरेको छ, यसको लागि म भारत सरकारलाई धन्यवाद भन्न चाहन्छु, निजी निवास पुनर्निर्माणमा गरेको सहयोगले नै आज हामीले गोरखा र नुवाकोटका ५० हजार घर पुनर्निर्माण सम्पन्न गरेका छौँ, हामीलाई भारत सरकारले प्राविधक र सामाजिक क्षेत्रमा गरेको सहयोग उल्लेख्य छ,’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निजी आवास पुनर्निर्माण परियोजनालाई प्रभावकारी ढङ्गले सफलतापूर्वक सम्पन्न गर्न स्थानीय सरकार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निकायहरूले महत्वपूर्ण भूमिका खेलेको पनि स्मरण गराए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने

एजेन्सी, १४ चैत । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलबार भएको हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु

काठमाडौँ, १४ चैत । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जेलबाट सरकार चलाउन थालेपछि त्यसलाई रोक्न मुद्दा दायर गरिएको छ । प्रवर्तन