मोटो मान्छेले हाँस नदेखे जस्तो भक्तपुरमा एमालेले काँग्रेस देख्दैन: पूर्वमन्त्री बस्नेत

भक्तपुर, २४ कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी निर्वाचन पछि भक्तपुर जिल्लामा कांग्रेसलाई नदेखिने दावी गर्नुभएको छ ।

नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नं. ५ कमिटीले आयोजना गरेको विजया दशमी, दिपावली, नेपाल सम्वत, छठलगायतका चाडपर्वहरुको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेता बस्नेतले २०७० सालमा जिल्लामा कांग्रेसलाई माथि हेर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । २०७० को निर्वाचनमा कांग्रेस भक्तपुरमा उच्च स्थान रहे पनि २०७४ सालमा कांग्रेस एमालेको लागि सामान्य प्रतिष्पर्धीमा सिमित भएको नेता बस्नेतले उल्लेख गर्दै आगामी निर्वाचनमा भक्तपुरमा कांग्रेस खोज्नुपर्नै अवस्थामा पुग्ने दावी गर्नुभयो ।

‘उहाँले भन्नुभयो, ‘२०७० सालमा कांग्रेसलाई माथि फर्केर हेर्नुपर्ने थियो । २०७४ सालमा कांग्रेसलाई तल फर्केर हेर्यौं । अबको चुनावमा कांग्रेसलाई मोटो (पेट ठूलो) भएको मान्छेले हिड्दा हाँसलाई कुल्चिन्छ भन्छन् नी । ठूलो पेट भयो भने हाँस देखिँदैन, अनि हाँस कुल्चिन्छ । हो त्यस्तै अब मोटो मान्छेले हाँस कुल्चे जस्तै एमालेले कांग्रेसलाई देख्दैन ।’

कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को नेतृत्वको समयमा भक्तपुरका जनताले उपत्यकाभित्र भएता पनि दुर्गम ठाउँ वा अपहेलित ठाउँको रुपमा रहनुपर्ने बाध्यता बनाएको उल्लेख गर्दै नेता बस्नेतले एमालेको नेतृत्व आएसँगै भक्तपुरका जनताले अपमानित नभई गैरवका साथ उपस्थित हुने अवस्था बनाएको उल्लेख गर्नुभयो । नेमकिपाले सिद्धान्तप्रति विचलनका कारण भक्तपुर पछि परेको समेत उहाँले सविस्तार प्रस्तुत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आलु खाएर पिडालु बनाउने भने जस्तै नेमकिपाले संघीय सांसद विकास गर्ने नभई कानुन बनाउनेमात्र हो भन्ने गरेका छन् । एक सिट दुई सिटेले के कानुन बनाउँछ ? काननु बनाउन त सदनमा बहुमत आवश्यक पर्छ । नेमकिपाको काम भनेको नै सरकारको भण्डाफोर गर्ने, हरेक कानुनको विरुद्धमा फरक मत राख्ने गरेका छन् । हिजोको जस्तै अहिले पनि प्रेम सुवालले निरन्तरता दिएका छन् । त्यही भएर उनी प्रेम सुवाल हैन प्रेम ‘सवाल’ बनेका छन् । सवैले उडाउन थालेका छन् ।’

भक्तपुरका जनताको लागि कांग्रेसले आस नभई सास जाने मात्र काम गरे उल्लेख गर्दै नेता बस्नेतले कांग्रेसका जनप्रतिनिधिले निर्वाचित भइसकेपछि भोट किनेको हो, त्यसपछि तिमीहरुसँगको सम्बन्ध सक्कियो समेत भन्ने गरेको जनगुनासो रहेको बताउनुभयो । कांग्रेसका कारण भक्तपुरका केही विकासहरु रोकिएको उल्लेख गर्दै नेता बस्नेतले कांग्रेसका नेताले आफ्नो शिर्ष नेतृत्वसँगको पहुँचलाई समेत सदुपयोग गर्न नसकेर विकासलाई दशकौंसम्म पछि धकेलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई कांग्रेसकै एक प्रभावशाली नेताले भन्नुभयो–ए महेश जी तपाई त भाग्यमानी हुनुहुँदो रहेछ । कांग्रेसको गणेशमान चक्रधरको अगाडीको बाटोको कोलोपत्रे पनि तपाईले गर्नुपर्ने, दधिकोटको लेखनाथ न्यौपानेको घरको छेउको सडक पनि तपाईले गर्दिनुपर्ने, कटुञ्जेको रामेश्वर ढुङ्गेलको अगाडीको बाटो पनि तपाईले कालोपत्रे गरिदिनुपर्ने । गुण्डुको भेषबहादुर कार्कीको घर अगाडीको बाटो पनि तपाईले नै कालोपत्रे गरिदिनुपर्ने । तपाईलाई त कांग्रेसले माला लगाएर स्वागत गर्नुपर्ने किन झन् गालि गरिरहेका छन् ? भनि प्रश्न गर्नुभएको थियो ।’

भक्तपुरको विकास समयले आएको नभई एमालेको नेतृत्वले ल्याएको उल्लेख गर्दै नेता बस्नेतले कांग्रेसले लामो समयसम्म अवसर पाउँदा पनि भक्तपुरमा विकासको अध्यारोमा राखेको बताउनुभयो । कांग्रेसले हरेक विकासमा मुद्धा हाल्न लगाएर कांग्रेसले विकासमा अवरोध गरिरहेको उल्लेख गर्दै नेता बस्नेतले गुण्डुमा जनताले विकासको विरोध नगरेका कारण छिटो विकास भएको तर कटुञ्जेमा विरोध गरेका कारण विकास केही ढिलो भएको जानकारी गराउनुभयो ।

कांग्रेसले एमालेलाई गाली गलैज गरेर सत्तो सराप गरेर उल्टो बाटोमा नहिड्न चेतावनी दिँदै नेता बस्नेतले भन्नुभयो, ‘कांग्रेजनहरु, उल्टो बाटोमा नहिड्नुस्, सुल्टो बाटोमा हिड्नुस् । एमालेको विरोध हैन, एमालेले थालेको विकासमा केही रकम भए पनि थप गरेर राम्रो काम गर्न ध्यान दिनुस् । एक दुई लाख भए पनि बजेट ल्याउनुस्, करोड ल्याउने त तपाईहरुको हिम्मत छैन । तपाईले शिर्ष नेतालाई ल्याएर एमालेलाई गाली गर्दैमा तपाईको पार्टीलाई एक भोट पनि बढ्दैन । भोट बढाउन जनताको मन जित्नुपर्छ, विकासका काम गर्नुपर्छ । हामीले केपी ओली, माधव नेपाल ल्याएर भक्तपुरमा जितेको हो ? जनताको सेवा गरेर जितेको हो । विकासका आयोजनालाई लात्ती हानेर जनताको मन जित्नुहुन्छ ? देशभर १४ सयभन्दा बढी आयोजना काट्नुभयो । भक्तपुरमा दर्जनौं आयोजना काट्नुभयो । कटुञ्जेको तीन वटा काट्नुभयो । अनि जनताको विकास प्रतिको चाहनामा लात्ती हानेर निर्वाचनमा जित्नुहुन्छ ?’

कांग्रेसले ह्वीस्की र वियरको विलसमेत चिया र मिठाईको भनि बनाउने गरेको जानकारी प्राप्त रहेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारको आरोप लगाउने कांग्रेसले आँखामा आँखा जुधाएर जुनसुकै ठाउँमा गएर छलफल गर्न तयार रहेको बताउनुभयो । भक्तपुरको विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्न सक्ने दावी गर्दै नेता बस्नेतले भन्नुभयो, ‘कुटुञ्जेको विकासको जिम्मा एमालेले लिएको छ । टोल टोल, गल्ली गल्ली विकास हुनेछ । चिन्ता लिनुपर्दैन । भक्तपुरको लोकतन्त्रको नाममा, सामाजिक न्यायको नाममा, विकास र समृछिको नाममा एमाले बाहेक अब कुनै पार्टी जनताले छान्नुपर्ने छैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।