चार महिना अगाडि एमालेले जे भन्यो अहिले सबै त्यहीँ आए : सांसद बस्नेत

भक्तपुर, १० कार्तिक । रमेश गिरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता, पूर्वमन्त्री एवं सांसद महेश बस्नेतले सरकार ढाल्ने, पार्टी फुटाउने र सत्तालाई काँग्रेस सभापति शेरबहादुर देउवाको पाउँमा लगेर चढाउनेहरुसँग आगामी चुनावले गर्ने बताउनु भएको छ ।

मंगलवार नेकपा एमाले सूर्यविनायक नगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको अभियान चलाएर पछि एमालेमा आएको जनलहर र ओलीको उचाई देखेर आत्तिएकाले एमाले फुटाउने योजना बनाएको बताउनुभयो ।

“देशका युवाहरुले एमाले अध्यक्ष ओलीलाई रोजे, केपी बाँ आइलभयू भने, आजका लागि होइन भोलीका लागि भन्दै नारा लगाए, युवाको लहर ओलीको पछि देखेर प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र शेरबहादुर देउवालाई टाउँको दुख्यो”, नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहनु भएका सांसद बस्नेतले भन्नुभयो, “त्यसैले नेकपाको एकता भत्काउन लागे, एमाले फुटाउन लागे, सरकार ढाल्न लागे, सत्तालाई देउवाको पाउँमा चढाउन पुगे, त्यसको हिसाब किताब चुनाबमा हुन्छ ।”

देशको राजनीतिक अस्थिरताको अन्त्यका लागि छिटो निर्वाचनमा जानुको बिकल्प नभएको भन्दै एमाले युवा इन्चार्ज सांसद बस्नेतले भन्नुभयो, “ प्रधानमन्त्री शेरबहादुर देउवा पनि अर्लि इलेक्सनकै पक्षमा पुगेका छन्, उनले निर्वाचन आयोगलाई पनि स्थानीय तहको निर्वाचन चैत ५ गते गर्ने र सम्भव भए सबै निर्वाचन एकै पटक गर्ने गरि छलफल गर्न थालेका छन्, अर्लि इलेक्सनले मात्रै अहिलेको राजनीतिक समस्याको समाधान दिन्छ, त्यसैले अब जतिसक्दो छिटो चुनाव हुनु पर्छ ।”

पार्टीमा योगदान दिन नसक्ने तर ठूलो भाग खोज्नेहरु यतिखेर हतारिएर माधव नेपाल नेतृत्व नेकपा समाजवादीमा गएको टिप्पणी गर्दै उहाँले अहिले त्यो पार्टी बाटोमै छ, बाटोमै बिलाउँछ, एमाले पाटोमा छ, त्यहाँ रहनेले छत पाउँछ, साथ पाउँछ, समाजवादीमा जाने एकदिन पछुताउनु पर्छ भन्नुभयो । हैसियत नभएको पार्टीको नेता बन्नु भन्दा ठूला पार्टीको कार्यकर्ता बन्दा ठूलो इज्जत हुने भन्दै उहाँले हतारिएर समाजवादीमा जानेलाई फर्केर आए पाटीृमा उचित भूमिका दिइने बताउनुभयो ।

माधव नेपालले पार्टी फुटाएर एमालेलाई खासै असर नपरेको भन्दै उहाँले केही गए तर त्यो भन्दा धेरै माओवादी, काँग्रेस, माओवादी र नेमकिपाबाट एमाले प्रवेश गर्नेको संख्या धेरै भएको दाबी गर्नुभयो । एमाले प्रवेश गर्ने लहर अझै नसकिएको र आगामी चुनावसम्ममा धेरै युवा तथा अन्य पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने दाबी गर्नुभयो । एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले १७ हजार जनता मारेर हत्या, अपहरण, लुटपाटको नेतृत्व गरेको प्रचण्ड अपराधी भएको आरोप लगाउदै उहाँले एकदिन प्रचण्डले मानव अधिकार विरुद्धको सजायँ पाउने दाबी गर्नुभयो ।

पूर्वमन्त्री एवं सांसद बस्नेतले भन्नुभयो, “अपराधनै गरे पनि प्रचण्डलाई राजनीतिक रुपमा सुधार्दै लैजाने र एमाले अध्यक्ष ओली पछिको पार्टीको नेतृत्व र प्रधानमन्त्री बनाउन खोजेका थियौँ, तर कुकुरलाई घिउँ पचेन भने जस्तै भयो ।”

उहाँले माओवादी केन्द्रसँग एमालेले पार्टी एकीकरण गर्दा माओवादीलाई हैसियत भन्दा बढी ठाउँ दिदाँ नेकपा एमालेको गतिबिधी कमजोर बनेको बताउनुभयो । उहाँले हैसियतनै नभएको माओवादी केन्द्रलाई पार्टीमा ४५ प्रतिशतमा ठाउँ दिँदा पार्टीका कमिटीहरु बिस्तार हुन नसकेको चर्चा गर्नुभयो । अब माओवादी केन्द्र पार्टी सकिने बताउँदै उहाँले अर्थबिज्ञ रामेश्वर खनालको भनाई यथार्थमा परिणत हुनेमा जोड दिनुभयो ।

उहाँले प्रचण्ड, माधन नेपाल र उपेन्द्र यादवको बुई चढेकै कारण काँग्रेस बिचरा बनेको टिप्पणी गर्दै यतिखेर प्रधानमन्त्री देउवा आफै अर्लि इलेक्सन भन्दै छिटो चुनाव गराउन निर्वाचन आयोगसँग छलफलमा लागेका बताउनुभयो । उहाँले भन्नुभयो, “अब सरकार चल्दैन, दशैँको मुखमा भूमिहिनहरुलाई गोली हान्ने यो सरकार, बाढी पहिरो पिडितलाई राहत दिनु पर्नेमा धम्की दिनुहुने यो सरकार अब चल्दैन, संसद चल्दैन, अब यो संसद पनि चल्दैन, केही काम गर्न सक्दैन, त्यसैले सबै निकासका लागि अर्लि इलेक्सन मात्रै उपयुक्त बाटो हो ।”

ओलीले सरकारको नेतृत्व गर्दा भएको जस्तो विकास खै ? भन्दै उहाँले यो सरकार भ्रष्टाचारमा मात्रै तल्लिन रहेको टिप्पणी गर्नुभयो । सरकारको १०० दिनमा भक्तपुरको एउटा अधिवेशन र एमालेको सरकारले बनाएको ललितपुरको कुम्भेश्वरको मन्दिर उद्घाटन गर्नेबाहेक अरु केही गर्न नसकेको उहाँको भनाइ छ । परमादेश जारी गर्दै ओली नेतृत्व सरकार बिस्थापित गर्ने प्रधान न्यायाधिस चोलेन्द्र शमसेर राणाको कदम गलत छ भनेर एमालेले भन्दा नपत्याउनेहरु अहिले त्यहीँ ठाउँमा आएको उहाँले बताउनुभयो ।

सांसद बस्नेतले भन्नुभयो, “सर्वोच्चको फैसला गलत छ, सर्वोच्च गलत बाटोमा हिडिरहेको छ भनेर हामीले भन्दा नपत्याउनेहरु, चार महिना पनि नबित्दै अहिले त्यहीँ ठाउँमा आइपुगेका छन्, छिटो एमालेको भनाइका बिरुद्ध लाग्ने वकिलहरु, पत्रकारहरु, नेताहरु अहिले त्यहीँ ठाउँमा उभिएर प्रधानन्यायाधिसको राजिनामा मागिरहेका छन् , सर्वोच्चका १४ न्यायाधिस, बार एशोसिएशन राजीनामा मागिरहेका छन् ।” उहाँले परमादेश जारी गर्ने प्रधानन्यायाधिसले मात्रै नभई त्यससँग जोडिएका पाँचैजना न्यायाधिसले राजिनामा दिनु पर्ने बताउनुभयो ।

एमाले सरकारमा रहदाँ भएका विकासलाई जनप्रतिनिधी र कार्यकर्ताले प्रचार गर्न नसकेको भन्दै सांसद बस्नेतले अब पनि पार्टीको समृद्ध नेपाल तथा सुखी नेपालीको अभियान नरोकिएको बताउनुभयो । उहाँले अब पार्टीलाई बलियो बनाएर आगामी निर्वाचनमा तीनवटै तहमा एमालेलाई विजयी बनाउने गरि अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य शशीजंग थापाले माओवादी केन्द्रसँग पार्टी एकीकरण हुँदा सबभन्दा ठूलो क्षति एमालेलाई भएको भन्दै पार्टी फुटको क्षति पूर्ती गर्ने गरि अबको नेतृत्व सक्रिय हुनु पर्नेमा जोड दिनुभयो । उहाँले अबको निर्वाचनमा फेरी पनि एमाले पहिलो पार्टी हुने गरि अधिवेशनले निर्वाचित गर्ने किमटी लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले पार्टीले ३३ प्रतिशत महिला र पाँच जना पदाधिकारीमा एक जना अनिवार्य महिलाको व्यबबस्था गरेकाले महिलाको क्रान्ति पनि पुरा भएको बताउनुभयो ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष बचन देउजा, एमाले वाग्मती प्रदेश सदस्यहरु राजेन्द्र राजथला, निर्मल भट्टराई, रजन केसी, टिपि उप्रेती, एमाले जिल्ला सचिव एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, जिल्ला समन्वय समिति उपप्रमुख सरिता कुँवर, सूनपाका उपप्रमुख जुना बस्नेतलगायतले पार्टीलाई एक ढिक्का बनाएर अबको निर्वाचन एक मात्र लक्ष्य लिएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमाले वागमती प्रदेश सदस्य रजन केसी, टिपी उप्रेती, निर्मल भट्टराई, राजेन्द्र राजथला, एमाले भक्तपुर सचिव तथा सूर्यविनायक नगरपालिका प्रमुख बाशुदेव थापा, उपप्रमुख जुना वस्नेत, जिल्ला समन्वय उपप्रमुख सरिता कुँवरलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरि सांसद बस्नेतले नेकपा एमाले भक्तपुर नगर कमिटी र मध्यपुरथिमि नगर कमिटीको प्रथम नगर अधिवेशनको छुट्छुट्टै कार्यक्रममा उद्घाटन गर्नुभयो । दुबै अधिवेशनमा बोल्दै उहाँले कार्यकर्तालाई आउँदो निर्वाचनमा एमाले अग्रस्थानमा आउने गरि अभियान चाल्न निर्देशन दिनुभयो ।

त्यसैगरि नेकपा एमाले चाँगुनारायण नगर कमिटीको प्रथम नगर अधिवेशनको नेकपा एमालेका केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गर्नुभयो । जिल्लाका चारवटै नगरपालिकामा आज ११ बजेदेखि बन्द सत्र शुरु हुने पार्टी जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १०

विराटनगर, १४ मंसिर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । कूल मतदातामध्ये १८४० मत ल्याएर ओली आगामी ५

काठमाडौँ, १४ मंसिर । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021