काठमाडौँ, २१ असोज । नेपाली कांग्रेसको एक टोली भारतीय जनाता पार्टी (भाजपा)को निमन्त्रणामा भारत प्रस्थान गरेको छ ।
सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको टोली आज बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेको हो । टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदय शम्शेर राणा रहेका छन् । पाँच दिनको भ्रमणका क्रममा उनीहरूले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरुका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा महतको आमन्त्रणामा केही हप्ताअघि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । त्यस भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, सहमहामन्त्री डा महतसहित नेपाली कांग्रेस र अन्य राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए ।
त्यसपछि भारतीय जनता पार्टीको आमन्त्रणामा डा महत नेतृत्वको टोली आज भारत लागेको हो ।