सिरहा, २० असोज । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आफ्नो विगतको भ्रष्टाचार तथा कालो कर्तुतलाई लुकाउन एमाले फुटाएर कांग्रेस–माओवादीको टाङमुनी छिरेको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय यूवा संघ नेपाल लहान सिरहाद्वारा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम लहान नगर अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले केपी ओली नेतृत्वको सरकारले वालुवाटार, लडाकु समायोजनलगायतका काण्डहरुले मुलुक र जनतालाई नै समाप्त पार्ने भ्रष्टाचारका काण्डहरुलाई कानुनी कारवाही गर्ने प्रकृया अगाडी बढेसँगै माधव तथा प्रचण्डले आफु स्वंम दोषी रहेको संकेत गर्दै जोगिनको लागि एमाले छोडेर भ्रष्टचारीहरुको गठबन्धनमा लागेको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘उक्त कार्यको नेतृत्व प्रचण्ड, माधव, उपेन्द्र लगायतले गरेको र कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले साथ दिएका छन् । म केपी ओली सरकारलाई धन्यवाद दिन चाहन्छ, वालुवाटार काण्ड, लडाकु समायोजन लगायतका ठूला ठूला भ्रष्टाचारको काण्डहरुमा संलग्नलाई कारावहीको प्रकृया अगाडी बढायो । माधव नेपाल, पुष्कमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, विजय गच्छदारलगायतलाई मुद्धा चलाउने प्रकृया अगाडी बढायो । चोरको खुट्टा काट भन्दा माधव नेपाल खुट्टा उचालेर भागे ।’
कांग्रेस, माओवादी, एस, जसपा तथा जनमोर्चासहितको सत्तारुढ गठबन्धन भ्रष्ट गठबन्धन भएको उल्लेख गर्दै नेता बस्नेतले माओवादी, जसपा, एकिकृत समाजवादी लगायतका दलहरुले कांग्रेसको बैशाखी टेक्ने अवस्था पुगेको दावी गर्नुभयो । तस्करी, माफिया, भ्रष्टाचारलगायतका गरी कालो धन कमाएकालाई पाँच वर्षसम्मको आयस्रोत वा लगानीको स्रोत नखोजिने गरी आफ्नो कालो कर्तुतलाई सेता बनाउने खेलमा सरकार लागेको आरोप लगाउँदै नेता बस्नेतले काले काले मिलेर खाउँ भाले भन्ने गठबन्धन रहेको बताउनुभयो ।
आगामी निर्वाचन पछि एमालेले गोल्ड मेडल पाउने दावी गर्दै नेता बस्नेतले एमालेसँग एक्लै एक्लै भिड्ने क्षमता नभएको स्पष्ट पार्नुभयो । आगामी निर्वाचनमा माओवादीलाई शुन्य सीटमा सिमित बनाउने उद्घोष गर्दै नेता बस्नेतले शुन्य सीटमा सिमित हुने भएपछि माओवादीले पूर्ण समानुपातीक निर्वाचन प्रणालीको माग गर्न थालेको समेत दावी गर्नुयभो ।
नेता बस्नेतले देउवा नेतृत्वको सरकार आएसँगै तराईका कतिपय ठाउँहरुमा एमालेका कार्यकर्तालाई झुटा मुद्धा लगाई दुःख दिने कार्य भइरहेको उल्लेख गर्दै तीन दिनभित्र आफ्नो कार्यकर्तालाई लगाएको झुटो मुद्धा सरकारले फिर्ता नदिए आन्दोलनको रणभूमि हुने चेतावनी दिनुभयो ।
संघका केन्द्रीय सचिवालय सदस्य एवं जिल्ला अध्यक्ष ईन्द्रेश राउतको अध्यक्षतामा एमाले केन्द्रीय सदस्य एवं प्रदेश नं.२ प्रदेश कमिटीका सह-ईन्चार्ज, पूर्बमन्त्री लिलानाथ श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपालका महासचिव रमेश आचार्य, एमाले केन्द्रीय कमिटी सदस्य, सिराहा सह-ईन्चार्ज एवं संविधानसभा सदस्य राम रती राम, राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटी सदस्य बैजनाथ शाह लगायतको विशिष्ट आतिथ्यतामा पार्टीका स्थानीय नेता तथा संघका नेताको उपस्थितिमा मोटरसाइकल र पैदल र्याली सहित नगर परिक्रमा गरि नगर सभा हलमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको छ । हजारौं-हजारको संख्यामा उपस्थित जनमानसका बिच सम्पन्न भएको उद्घाटन सत्र पश्चात ३३१ प्रतिनिधि सहभागी बन्द सत्रले बेद प्रसाद शाहको अध्यक्षतामा १५१ सदस्यीय नगर कमिटी चयन गर्दै नगर अधिवेशन सम्पन्न भएको छ ।