काठमाडौँ, ३१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।
आज कोषको ६० औं वार्षिकोत्सव समारोहको भर्चुअल उद्घाटन गर्दै मन्त्री शर्माले ञ्चयकर्ताको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्न सुझाव दिएका छन् ।
उनले भने, ‘सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, जसले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्याउँछ,’ ‘उत्पादनशील क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्दै व्यापार घाटा कम गर्न सहयोग गर्छ ।’
मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताहरुको लागि सहज वातावरण सृजना गर्नुपर्ने धारणा व्यक्त गरे । सञ्चयकोषको कुल लगानी आर्थिक वर्ष २०७७र७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चयकोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड छ । कोषको दायित्व ४ अर्ब ६७ करोड रहेकोे छ ।